काठमाडौँ । आइतबार बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलई प्रहरीले पक्रियो । केस थियो नक्कली धितो राखेर कर्जा प्रवाह । अभियोग थियो यहि काममा मिलेमतो । तर यो घटना, र घटनापछाडिका परिदृश्यलाई केलाउने हो भने अजय श्रेष्ठलाई पक्राउ नगरेरै अनुसन्धान गरिदिएको भए राम्रो हुने थियो कि भन्ने तथ्य खुल्छ । किनकि ऋणको फाइलमा सीइओको हस्ताक्षर जिम्मेवारीभन्दा बढी औपचारिक हुन्छ भन्ने तथ्य धेरैले बुझेका छैनन् । यो घटनामा पनि त्यस्तै भएको छ ।
पहिला घटनाको नालीबेली हेरौं !
२०७१ सालमा हेटौंडाका व्यापारी सुरेन्द्र श्रेष्ठले झापामा रहेको खोला छेउको जग्गा धितो राखेर बैंक अफ काठमाण्डूबाट झन्डै ५ करोड ऋण स्वीकृत गराए । ऋण लिए तर तिरेनन् । नतिरेपछि बैंक प्रक्रियामा गयो । बुझ्दै जाँदा धितो नक्कली भएको खुल्यो । हदै भएपछि बैंकले सीआइबीलाई उजुरी गर्यो । प्रहरीले उजुरी परेको १० दिन अर्थात साउन २४ गते ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गर्यो । उनले बयानका क्रममा अन्यको नाम लिए र प्रहरीले उनले नाम लिएकाहरुलाई भकाभक पक्राउ गर्यो । अजय श्रेष्ठ यहींनेर मुछिए ।
कसरी भयो ठगी ?
यो कर्जा लिन सुरेन्द्रले बैंकका तत्कालीन पूर्वाञ्चल क्षेत्र हेर्ने गणेश लम्साललाई हातमा लिए । दुइजनाको पहिलेदेखि नै निकै राम्रो सम्बन्ध थियो । धितो हेर्न उनी नै गएका थिए । उनी अहिले बैंकबाट अवकास प्राप्त भइसकेका छन् । तर यहि प्रकरणमा उनलाई प्रहरीले पक्राउ गर्यो । धितोको मूल्याङ्कन ‘स्वतन्त्र भ्यालुएटर’ भेषराज खत्रीले गरेका थिए जो अहिले फरार छन्। भ्यालुएटर बैंकको कर्मचारी हुँदैनन् । बैंककि कर्मचारी ऋचा श्रेष्ठले सबै कागजपत्र हेरेर नियम/कानुन पालना भएको भनी प्रमाणित गरेकी छिन् । उनी पनि पक्राउ परिसकेकी छिन । भ्यालुएटरले पनि राम्रो भ्यालुएसन गरेको र ऋचा श्रेष्ठले पनि ठिक भनेपछि उक्त फाइल चिफ बिजनेस अफिसर पुष्पराज भण्डारीकहाँ पुग्यो । उनले सबै कुरा ठिक छ भनेर ऋणको फाइल अप्रुभ गरे । उनी पनि पक्राउ परिसकेका छन् । अव सबै ठाउँबाट ठिक भनेर आइसकेको फाइलमा सीइओले सहि गर्छन् । नगरुन् पनि किन, सबै ठिक छ भनेर आएको छ । ऋणीले स्वर्णिम एण्ड सिजनका नाममा झन्डै ५ करोड ऋण पाए ।
हेरौं यो भिडियो रिपोर्ट