माल्टा र पोर्चुगल पठाउने दलेहरुको बिगबिगी, रकम गुट्मुट्याएर सञ्चालक भागेपछि यसरी फसे कर्मचारी (भिडियो रिपोर्ट)

काठमाडौं । देशले देशमै देशका नागरिकलाई देश बस भन्ने स्थिति देशमा नरहेपछि यो देशबाट देशको माया बोकेर बिरानो देशमा पसिना बगाउने बाध्यता बोकेका थुप्रै नागरिक छन् यो देशमा । र त हरेक दिन, हरेक साँझ हरेक रात, काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आँशुका धारा बग्छन्, छोरीको बिलौना सुनिन्छ, आमाको चित्कार देखिन्छ, श्रीमतीको सिन्दुर रुन्छ ।

देशले देशभित्रै बस्ने वातावरण नबनाईदिएकै कारण त्यहि विमानस्थलमा विदाईका हातहरु हल्लाएर परदेश जानुपर्ने बाध्यताका बीच अहिले अधिकांस युवा पीढी विदेशिन खोजिरहेको छ यो देशबाट । र देशले दिनुपर्ने रोजगारी नदिएकै कारण विदेश जानुपर्ने बाध्यतामा परेकाहरुलाई ठगी गर्नेहरु पनि बढेका छन् । र त देशमा सहकारी भाग्नु र मेनपावरका नाममा खुलेका नक्कली कम्पनीहरु भाग्नु अस्वाभाविक हुनुपर्ने तर सामान्य घटना बनेका छन् ।

दलालहरुको ठगीका कारण अहिले पनि दिनहुँजसो विदेश जाने नाममा नागरिक ठगिएका छन् । विदेश पुग्ने सपना बोकेर घर खेत बेचेरै भएपनि जम्मा गरेको पैसा दलाललाई दिएपछि दलाल भागीदिँदा अहिले थुप्रै नागरिक समस्यामा छन् र त्यस्तै भयो बुटवलमा पनि । बुटवलमा रमेश सिंह ठकुरीले इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी नामक नक्कली कम्पनी खोले । माल्टा र पोर्चुगल पठाउने भन्दै उनले सो कन्सल्टेन्सीका माध्यमबाट थुप्रैजनासँग डिल गरे र पैसा पनि लिए । सिंहले बुटवलमा विदेश पठाउने ‘म्यानपावर कम्पनी’ खोलेर व्यक्तिका नाममा कारोबार गरे, र सबै पैसा गुटमुट्याएर फरार भए ।

विदेश जानेहरुबाट लाखौँ रकम लिएर सञ्चालक भागेपछि अहिले सो कन्सल्टेन्सीमा काम गर्ने कर्मचारी यो केसमा फसेका छन् । जो आफैंले पनि आफुले जागिर खाने कम्पनीले विदेश पठाउने भएपछि आफ्ना आफन्तबाट पनि पैसा उठाएका थिए र संचालकलाई दिएका थिए । र अहिले तीनै संचालकलाई पीडीतहरुले समातेपछि, आफु पनि फसें भन्दै उनी अर्थ सरोकारको कार्यालयसम्म आइपुगेका छन् ।

सञ्चालक नै भागेपछि कन्सल्टेन्सीमा रकम बुझाएकाहरुले कम्पनीमा काउन्सिलरका रुपमा काम गर्ने कर्मचारी दिपक पोखरेललाई समाते र प्रहरीकहाँ बुझाए । ‘म दोषी थिइन । तर पनि म फसे’, पोखरेलले भने, ‘आत्तिएर मैले मेरो व्यक्तिगत नाममा चेक समेत काटेर दिएको छु । तर, मेरो खातामा पैसा छैन ।’ हुन पनि २५ हजारको जागिर खानेको खातामा ६५ लाख हाराहारी पैसा हुने कुरै भएन ।

गुल्मी स्थायी घर भएका दिपकलाई करिब डेढ महिनाअघि खुलेको ‘इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी’नामक कम्पनीले काउन्सिलिङ गर्ने जिम्मा दियो । सुरुमा मासिक २५ हजार रुपैयाँ तलव दिने सम्झौता भएको दिपकले बताए । ‘म आफु नै काम गर्ने संस्थाले विदेश मान्छे पठाउने भएपछि मैले मेरो आफन्तसँग पनि पैसा उठाएको छु’, उनले भने, ‘तर, आफन्तसँगै सो कम्पनीमार्फत विदेश जानका लागि पैसा तिर्नेहरु सबै फसे । यतिसम्मकी यसमा मेरो केही पनि दोष छैन तर पनि कर्मचारी भएकै कारण म आफै पनि फसेँ ।’

कम्पनीले विदेश पठाइदिनेभन्दै प्रतिव्यक्ति ७ लाख रुपैयाँ तोकेको र अग्रिम पेमेन्ट भन्दै कम्पनीले प्रतिव्यत्ति तीन÷साढे तीन लाख रुपैयाँ लिने गरेको दिपकले बताएका छन् । उनका अनुसार ग्राहकहरुे सो रकम साइन रेसुङ्गा डेभलेपमेन्ट बैंकमा रहेको नरेन्द्र कुमार हाथीको खातामा जम्मा गरिदिन्थे र कम्पनीले रिसिप्ट दिन्थ्यो । त्यस्तै, कम्पनीमा अर्का एकजना बलराम श्रेष्ठले काठमाडौंमा बसेर डकुमेन्टको काम गर्थे ।

मासिक २५ हजार रुपैयाँ तलब दिने भन्दै दिपक पोखरेललाई काउन्सिलरको रुपमा नियुक्त गरेको कम्पनीले पोर्चुगल र माल्टा पठाउने भन्दै करिब २५ जनाबाट ६५ लाख बढी रकम लियो र भाग्यो । बलराम श्रेष्ठले भिडियो मार्फत भिसा लागेको भन्दै देखाउने तर सक्कली कागजात उपलब्ध नगराउने गर्दा पनि यस्तो ठगीबारे कसैले सुंइको पाएनन् । तर संस्था सञ्चालन गरेको डेढ महिनामा संकलन गरेको रकमसहित सञ्चालक सबै फरार भएपछी अहिले समस्यामा परेका छन् । र भनिरहेका छन् – ‘थुप्रै ठगिए, म पनि ठगिए, तलव पाउनु त परको कुरा अहिले सबै पैसाको दायित्व मेरो भन्दै चेक काट्न लगाइएको छ तर मेरो खातामा पैसा छैन । अव कि म जेल जानुपर्यो, कि मर्नुपर्यो ।’ (भिडियो)

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal