बैंकको नक्कली कर्मचारी बनेर खुलेआम ठगी (भिडियो)

काठमाडौं । केहि समय अघि माछापुच्छ्रे बैंकमा राखेको पैसा खाताबाटै गायब भएको तथ्य बाहिरिएपछि नेपाली बैंकिङ क्षेत्रप्रति जनताको विश्वासमा कालो दाग लागेको थियो । जनताले सुरक्षित हुन्छ भनेर बैंकमा राखेको पैसा सबै हराएपछि जनता अहिले पीडामा छन् र यो केसमा बैंकले अझै जिम्मेवारी लिएको छैन । यो घटनामा बैंक दोषी थियो । तर आज हामी नेपाली बैंकिङ क्षेत्रको अर्को चुनौतीपूर्ण तथ्य देखाउँदैछौं, जहाँ बैंकका नाममा सोझा नेपालीहरु ठगिएका छन् । बैंकका नक्कली प्रतिनिधि बनेर हुने यस्तो अवैध धन्दामा के के हुन्छ त ? बैंकको नाम बेचेर ठगहरुले सोझा नेपालीको पैसा लुटेको स्थितिका बीच कहाँ कहाँ के के भईरहेका छन् र जनता यस्ता नक्कली बैंकका नक्कली प्रतिनिधिबाट ठगि रहेका छन् ।

यीनी केशब रिजाल हाल बैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् । आफुले कमाएको पैसा रेमिट्यान्समार्फत नेपाल पथाउन बैंक खाता लिंक गर्नुपर्ने भएपछी उनले आफ्नी श्रीमतीलाई कुमारी बैंक पठाए । तर बैंकमा काम नै भएन । उनी विदेशमा भएकाले उनले बैंकमा फोनसमेत गरे।  तर पटक पटक फोन गर्दा पनि उनको समस्याको समाधान भएन । अव बैंक प्रतिनिधिसंग कुरा गर्छु भनेर उनले फेसबुक पेजमार्फत आफ्नो सबै जानकारी गराए । तर उनले आफ्नो खाता नम्बर र अन्य जानकारी सबै दिएर ठग्नेले ठगिसकेपछि मात्र थाहा पाए कि कुमारी बैंकको सो फेसबुक पेज, जहाँ उनले बैंकको प्रतिनिधिसंग कुरा गरेको भन्ने ठानेका थिए, सो पेज नै बैंकको नक्कली पेज रहेछ ।

नक्कली पेज चलाउनेले उनको खाता नम्बर माग्यो, त्यसपछि पिन माग्यो, बैंकले नै मागेको सम्झेर उनले सबै दिए । तर फेक एकाउन्ट चलाउनेले उनको सबै पैसा झ्वाम पारिदियो । अहिले पनि सो पेज संचालनमा छ।  यो सबै जानकारी पाएर पनि बैंकले यस विषयमा कुनै चासो दिएको छैन भन्ने आरोप छ उनको । अझ फेक एकाउन्टबाट बोल्ने नक्कली बैंकर भन्छन्, तपाईंले जहाँ रिपोर्ट गर्नुपर्छ गर्नुस, हुने वाला केहि छैन, हामीलाई कसैले समात्न सक्दैन।

बैंक हामी अनुसन्धान गरिरहेका छौं मात्र भन्छ, सीआईबी पनि अनुसन्धान जारी छ भन्छ, फेक अकाउन्ट चलाउने मान्छे उल्टै ठुला कुरा गर्छ।  तर कसैगरी पनि आफ्नो पैसा फिर्ता हुँदैन । अझ त्यो भन्दा ठुलो कुरा त उनी भन्छन् बैंकले समयमा नै मेरी श्रीमती बैंक पुग्दा सेवा दिएको भए म ठगीमा पर्ने थिईन । तर बैंककै लापरवाही र मेरो अन्जानीका कारण म ठगीमा परें ।

त्यसपछि उनले बैंकका सीइओसंग पनि कुराकानी गरे।  सीइओले आफ्नो स्टाफको नम्बर दिए।  फेरी ती स्टाफले अर्को स्टाफको नम्बर दिए । यसरी कुरा थुप्रैसंग भयो तर रिजालले न्याय पाएनन् । कतैबाट पनि न्याय नपाएपछि उनले अर्थ सरोकारमा सम्पर्क गरे र भने -‘कुरा पैसाको भन्दा पनि यसरी हुने ठगी रोक्न बैंकले किन कदम चालेन भन्ने हो ।  म त ठगिए नै सो फेसबुक पेज चलाउनेले अझै पनि अरुलाई पनि ठगी गरिरहेको छ, त्यसलाई कारवाही गर्नुको सट्टा बैंकले केहि पनि गरेन ।

यसरी नक्कली बैंकको नक्कली प्रतिनिधि बनेर जनता ठगीमा परेको घटना प्रस्तुत गरिएका प्रतिनिधि उदाहरण नौला होइन । ठगहरुले बैंकका नाममा नक्कली फेसबुक पेज बनाएर हुने यस्तो नक्कली धन्दामा थुप्रै सोझा नेपालीहरु परिसकेका छन् । नक्कली पेजबाट यस्तो धन्दा हुँदा, जनता फसिरहन्छन् र सक्कली बैंकले जिम्मेवारी पनि लिंदैन । प्रहरी उजुरीका चाङ्ग गनेर मात्र बसिरहेको छ । प्रहरी ठगहरुसम्म पुग्दा एकातर्फ सोझा नेपालीहरु फसिरहेका छन् भने अर्कोतर्फ ठगहरुको मनोबलसमेत बढेको छ ।

बैंकको नक्कली फेसबुक पेज बनाएर नेपाली ठगेको घटनामात्र होइन, अहिले तपाईंलाई चिठ्ठा पर्यो भनेर मोबाइल बैंकिङको कोड माग्ने र तपाईंको पैसा खाताबाट नै झ्वाम पार्ने घटनाहरु पनि बढेका छन् । अझ कतिपय ग्राहकले त आफुले मोबाइल बैंकिङको सेवा नै नलिंदा पनि आफ्नो पैसा खाताबाट नै उडेको बताईरहेका छन् । यस्तो घटनामा बैंकको एउटा खाताको रकम अर्को खातामा ट्रान्सफर गरिएको हुन्छ ।

तर जुन बैंकको खातामा पैसा गएको हुन्छ, त्यसबारे सम्बन्धित बैंक, प्रहरी वा अन्य अधिकारप्राप्त निकायले चासो नै नदिंदा यस्ता घटनाहरुले प्रसय पाएका छन् । र त आफुले दुख गरेर कमाएको पैसा क्षणभरमै कसैले चोरेर लगिदिंदा पनि बैंकका ग्राहकसँग म ठगिए है भनेर रुवावासी गर्नुबाहेक कुनै विकल्प छैन । र त्यस्तै एक ग्राहक आफ्नो पैसा बैंकबाट हराएको भन्दै अर्थ सरोकारको कार्यालयसम्म आइपुगेका छन् ।

यीनी मुकेश कुमार शाह । बैंकको खाताबाट आफ्नो पैसा रातारात गायब हुँदा पनि कतैबाट न्याय नपाएको भन्दै अर्थ सरोकारको कार्यालयमा आएका उनी भन्दै थिए, मेरो खाताबाट पैसा चोरी भयो । बैंकलाई कसले पैसा चोर्यो भन्ने पनि थाहा छ, राष्ट्र बैंकमा पनि उजुरी गरेको छु, तर कतैबाट पनि मैले न्याय पाइन । उनी भन्दै थिए, म मोबाइल बैंकिङ पनि चलाउदिन, इन्टरनेट बैंकिङ पनि चलाउँदिन, बस पैसा राखेको र झिकेको मेसेज आउनेगरी सेवा लिएको छु । त्यहाँ पनि कहिले मेसेज आउंथ्यो, कहिले आउंदैनथियो । तर मेरो खाताबाट मोबाइल बैंकिङ प्रयोग गरेर पैसा चोरियो ।

उनलाई कसले कहिले उनको खाताबाट पैसा चोरे भन्ने जानकारी पनि प्राप्त भएको छ । बैंकले फलानो दिनमा फलानो समयमा फलानो मान्छेले यति पैसा लागेको छ भन्ने जानकारी पनि दिएको छ । उनको पैसा चोर्नेले बैंकको विथड्र स्लिप प्रयोग गरेर पैसा झिकेको पनि छ । तर एउटाको पैसा यसरी अर्कोले झिकेर लैजाँदा पनि बैंक भन्छ- ‘पैसा झिक्नेले झिकिसक्यो, हामी केहि गर्न सक्दैनौं ।’

उनीसंग पैसा चोर्नेको तीनपुस्ते विवरण पनि छ, प्रहरीमा खबरसमेत गरेका छन्, बैंकमा गएर यस विषयमा सोधीखोजीसमेत गरेका छन्, राष्ट्र बैंकसमेत पुगेका छन् । तर अहँ उनले कतैबाट पनि न्याय पाएनन् र उनको पैसा फिर्ता नभएपछि उनी गुनासो लिएर हामीसम्म आइपुगे ।

उनी भन्छन्, मैले मोबाइल बैंकिङ लिएकै होइन, मात्र मेसेज आउनेगरी व्यवस्था मिलाईदिनू भनेको हो । तर बैंक भन्छ उनको मोबाइल बैंकिङबाट पैसा ट्रान्सफर भईसकेको छ, यसमा हामी केहि गर्न सक्दैनौं । बैंकलाईसमेत थाहा छ उनको पैसा ह्याक भएर चोरी भएको छ, बैंकलाई यो पनि थाहा छ, धेरै ग्राहकको यसरी नै पैसा चोरी हुन्छ । र त गईसकेको पैसा बारे बैंक झन्झट लिन खोज्दैन । तर ग्राहकको पैसा डुबेको छ ।

यसरी ग्राहकको पैसा बैंकको खाताबाट नै दिनदहाडै हराउँदा पनि बैंक ग्राहकलाई र ग्राहक बैंकलाई दोष लगाईरहेका छन् । गम्भीर भएर यस्ता घटनामा सम्बन्धित बैंक र प्रहरीले अनुसन्धान गर्ने हो भने ठग पत्ता लाग्न कुनै पनि समय नलाग्नुपर्ने हो । तर यस्ता सानासाना ग्राहकलाई परेका ठुला समस्या हेर्ने फुर्सद कुनै निकायलाई पनि छैन । र त न जनता ठगिने क्रम रोकिएको छ, न ठगहरुको मनोबल नै घटेको छ । अव यस्ता घटनाहरु कम हुन नदिन के गर्ने त ?

बैंकका प्रतिनिधि बनेर ठगहरुले ग्राहक ठगिरहेका छन् । नेपालमा र विदेशमा बस्नेहरुले नेपालीको सोझोपनको फाइदा उठाउँदै यस्तो गैरकानुनी धन्दा चलाईरहेका छन् । अझ तथ्य यस्ता पनि देखिएका छन् कि विदेशमा बस्ने नेपालीहरुले पनि नेपालमा रहेका सोझा नेपालीहरुलाई पनि यसरी बैंकको नक्कली प्रतिनिधि बनेर वा तपाईंलाई चिट्ठा  पर्यो भनेर ठगी गरिरहेका छन् ।
आखिर बैंकका नक्कली प्रतिनिधि बनेर ठग्नेहरुबाट कसरी जोगिने त ?
१. अहिलेको जमाना अनलाइन बैंकिङको छ, तर सचेत रहनुहोस् । आफुले हेरिरहेको बैंकको नामको फेसबुक पेज के आधिकारिक पेज हो त ? ख्याल गर्नुहोस् । पेज आधिकारिक हो कि होइन भन्ने चिन्ने सबैभन्दा सजिलो विकल्प भनेको पेजमा बैंकको नाम पछाडी टिक मार्क लगाईएको हुन्छ । यसको अर्थ यो पेज सम्बन्धित संस्थाको आधिकारिक फेसबुक पेज भन्ने हो । अव कुनै बैंकको आधिकारिक फेसबुक पेज भेरी फाईड नै छैन भने के गर्ने ? त्यस्तो पेज हेर्दै नहेर्नुहोस । आजको यो दुनियाँमा आफ्नो अरवौंको बैंकको एउटा फेसबुक पेजसमेत भेरिफाइ गर्ने ल्याकत सम्बन्धित संस्थाले राख्दैन भने सो संस्थाको आइटी विभाग कति कमजोर रहेछ भनेर बुझ्न सकिन्छ । हुन त बैंकका पोस्टहरुबाट पनि सम्बन्धित फेसबुक पेज सम्बन्धित संस्थाकै हो कि होइन भनेर पनि बुझ्न सकिन्छ । तर नक्कलीहरुले पनि सक्कलीझैं पोस्ट गरेको हुन सक्ने जोखिमबारे ख्याल गर्नुहोस् । सोहि नामका अन्य पेजहरु पनि हेरर सक्कली र नक्कली छुट्याउनुहोस् ।
२.  बैंकका सक्कली प्रतिनिधिले कहिले पनि तपाईंको पासवर्ड माग्दैनन् । तपाईंलाई बैंकको प्रतिनिधि बनेर कसैले तपाईंको मोबाइल बैंकिङको पासवर्ड, तपाईंको इमेलको पासवर्ड लगायतका विवरण माग्छ भने मान्नुस्, त्यो ठग हो, त्यस्ता ठगहरुको कुरा सुन्दै नसुन्नुहोस ।
३. बैंकले कहिले पनि तपाईंसँग तपाईंको मोबाइलमा आएको कोड, अर्थात ओटीपी, ओटिपी अर्थात वान टाइम पासवर्ड माग्दैन। कसैले तपाईंको कोड पठाउनु भनेर माग्यो भने त्यो ठगी हो ।
४. अहिले ह्याकरहरु यति सक्रिय भएका छन् कि, तपाईंको खाता नम्बर र मोबाइल नम्बर मात्र पाए भने पनि सम्भावित पासवर्ड पत्ता लगाईदिन सक्छन् । त्यसैले कसैले मागेकै भरमा तपाईंको खाता नम्बर र मोबाइल नम्बर अरुलाई नदिनुहोस् ।
५. सजिलो पासवर्ड हिट एण्ड ट्रायल गरेर ह्याकरहरुले ह्याक गर्न सक्छन । त्यसैले कहिल्यै पनि आफ्नो मोबाइल बैंकिङ, वा इन्टरनेट बैंकिङमा सजिलो पासवर्ड नराख्नुहोस् ।
६. बैंकमा काम गरेको साथी भनेर कहिलेकाहीं तपाईंले बैंकर साथीलाई आफ्नो काम गराउन आफ्नो पासवर्डसमेत दिने गर्नुभएको छ भने आजैबाट त्यस्तो काम बन्द गर्नुहोस् । नहुन्जेलसम्म मात्र हो केहि नहुने, ठगी भए पछि त भईहाल्यो नि भनेझैं तपाईं यसरी पनि ठगीमा पर्न सक्नुहुनेछ ।
७. कुनै पनि बिदेशी, वा नेपाली नम्बर वा नेपालीले नै दाई, दिदि जस्ता साइनो लगाएर फोन गरेछ भने पनि तपाईंको पासवर्ड दिंदै नदिनुहोस् । इमेलमा आउने कुनै पनि चिट्ठासम्बन्धि लिंक नाखोल्नुहोस ।
८. कुनै पनि बैंकको प्रतिनिधिले तपाईंलाई तपाईंको समस्याका बारेमा फेसबुक पेजबाट कुरा गर्दैन, त्यसैले त्यस्ता नक्कली बैंकरबाट सचेत रहनुहोस् ।
९. भाइबरमा बैंकका आधिकारिक ग्रुपमा मात्र जोडिनुहोस् । आधिकारिक ग्रुप भेरिफाइड हुन्छन् । अर्थात सम्बन्धित बैंकको आधिकारिक भाइबर ग्रुप मा भेरीफाइड टिक लगाइएको हुन्छ ।
१०. अहिले सबैतिर बैंकका साखा छन्, त्यसैले सकेसम्म केहि समस्या परिहाले बैंकको साखासम्म पुग्ने कष्ट गर्दा फरक पर्दैन । विदेशमा हुनुहुन्छ भने आफ्नो समस्या सिधै बैंकको कस्टमर केयर सेन्टरमा फोन गर्नुहोस् ।
र यतिमात्र गरियो भने बैंकका नाममा हुने ठगी कम हुनेछन् । हुन त यो सचेतना बैंकहरुले जुन रुपमा दिनुपर्ने हो दिईरहेका छैनन्, वा दिन सकिरहेका छैनन् । राष्ट्र बैंकले पनि यसमा दिनुपर्ने जति चासो दिईरहेको छैन । तर हामी ग्राहक नै स्वयम् यस्ता घटनाबाट सचेत भयौं भने हामी ठगीबाट बच्न सक्छौँ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार टेलिभिजन कार्यक्रम अनुसन्धानमा आधारित नेपालको नम्बर १ आर्थिक टेलिभिजन कार्यक्रम हो । आर्थिक क्षेत्रमा हुने बिकृतिविरुद्ध खरो पत्रकारिता अभ्यासमा लागेका हामी छोटो समयमा नै स्थापित आर्थिक टेलिभिजन कार्यक्रम बन्न सफल भएका छौँ । हामी युट्युबमा सर्वाधिक हेरिने आर्थिक टेलिभिजन कार्यक्रम पनि हौँ । हाल बिजनेश टेलिभिजनमा हरेक आइतबार राती ८:३० बजे, र सोको पुन: प्रशारण सोमबार विहान ७:३० बजे, र विभिन्न समयमा अन्य माध्यमबाट पनि प्रशारण भइरहेको यो कार्यक्रमका लागि कुनै जानकारी, सूचना वा प्रतिक्रिया छन् भने हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal