नारीहरुलाई सलाम ! नेपालको बैंकिङ क्षेत्रमा महिलाको सक्रियता उत्साहजनक, सम्भावना र चुनौती कस्ता छन् ?

काठमाडौँ । आज मार्च ८ अर्थात नारी दिवस । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो । नेपालमा पनि विविध कार्यक्रमका बीच यो दिबस मनाउने गरिन्छ । आजकै दिन हामीले नेपाली बैङ्किङ क्षेत्रमा महिलाहरुको सक्रियता, सम्भावना र चुनौतीबारे खोज्ने प्रयास गरेका छौँ । नेपाली समाजको परम्परागत बाध्यता, महिलाहरुको साक्षरता लगायतका कुराले अझै पनि नेपाली बैंकहरुमा महिलाहरुको सक्रियता उल्लेखनीय छैन । 
यद्यपी महिलाहरुका लागि प्रचुर सम्भावनाको क्षेत्र भएकाले आशाका थुप्रै रेखाहरु भने नेपाली बैंकिङ क्षेत्रमा देख्न सकिन्छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार नेपालका वाणिज्य बैंकहरुमा ३८.४६ प्रतिशत महिला कर्मचारी कार्यरत रहेका छन् । यो संख्या अघिल्लो बर्षको तुलनामा बढी हो । संघको तथ्यांक अनुसार हाल नेपालका २७ वाणिज्य बैंकहरुमा कुल ३६ हजार ९६७ जना कर्मचारीमध्ये १४ हजार २२१ जना महिला कर्मचारी रहेका छन् । 
कुन बैंकमा कति छन् महिला कर्मचारी ? 
बैंकर्स संघको तथ्यांकले ३८.४६ प्रतिशत महिला कर्मचारीहरुले बैंकमा काम गरिरहेको तथ्यांक दिएका बेला सबैजसो बैंकमा महिला कर्मचारीहरुको उपस्थिति निकै बलियो देखिएको छ । यद्यपी माथिल्लो तहमा भने महिला कर्मचारीहरुको उपस्थिति उल्लेखनीय छैन । महिला बैंकरले नेतृत्व गरिरहेको मेगा बैंक नेपाल लिमिटेडमा कुल ११५६ कर्मचारी आवद्ध छन् । जसमा महिलाहरुको संख्या ४९४ छ । कूल ३०२१ कर्मचारी कार्यरत ग्लोबल आइएमइ बैंकमा १०३८ जना महिला कर्मचारी छन् भने एनसीसी बैंकमा १२७४ कर्मचारीहरुमध्ये  ७७७ महिला कर्मचारीहरु कार्यरत छन् । 
यस्तै २०६१ कर्मचारी कार्यरत प्रभु बैंकमा ९५३ जना महिला कर्मचारी छन् । यस्तै प्राइम कमर्शियल बैंकमा २८३ महिला कर्मचारी कार्यरत छन् भने स्ट्याण्डर्ड चार्डड बैंकमा २३५ महिला कर्मचारी काम गरिरहेका छन् । यता बैंक अफ काठमाण्डूमा ३५५ जना महिला कर्मचारीहरु छन् भने सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा ३४८ महिला कर्मचारीहरु रहेका छन् । यता नेपाल बंगलादेश बैंकमा ३२६ महिला कर्मचारी आवद्ध छन् भने एभरेष्ट बैंकमा २६७ जना महिला कर्मचारी काम गरिरहेका छन्।
यसैगरी हिमालयन बैंक लिमिटेडमा ३५६ र सानिमा बैंकमा ३३७ महिला कर्मचरी कार्यरत छन् । सिटिजन्स बैंकमा ४२४ महिला कर्मचारी रहदा सिभिल बैंकमा ३७८ महिला कर्मचारीहरु कार्यरत छन् । यता लक्ष्मी बैंकमा ३४२ महिला आवद्ध छन् भने नेपाल एसबिआइ बैंकमा ३१७ जना महिला कर्मचारी छन्। यस्तै कुमारी बैंकमा ३८८ जना महिला कर्मचारीहरु कार्यरत छन् भने नबिल बैंकमा ४०२ कर्मचारी कार्यरत छन् । एनएमबी बैंकमा ४१२ जना महिला कर्मचारी रहेका छन् भने माछापुच्छ्रे बैंकमा ४८९ महिला कर्मचारी कार्यरत छन् । 
यता सनराइज बैंकमा ३६५ महिला कर्मचारीहरु छन् भने नेपाल इन्भेष्टमेन्ट बैंकमा ६४८ महिला कर्मचारीहरु काम गरिरहेका छन् । सिद्धार्थ बैंकमा ६०१ जना महिला कर्मचारीहरु कम गरिरहेका छन् । राष्ट्रिय बाणिज्य बैंकमा ६२९ महिला र कृषि विकास बैंकमा ५५८ महिला कर्मचारी कार्यरत छन् । नेपाल बैंकमा ८११ जना महिला कर्मचारी कार्यरत छन् भने निजी क्षेत्रको सबै भन्दा ठूलो बैंक एनआईसी एसिया बैंकमा १६८८ जना महिला कर्मचारी रहेका छन् । 
किन बढ्दैछ बैंकहरुमा महिलाहरुको संख्या ? तर माथिल्लो तहमा महिला किन कम ?
बैंकहरुमा महिलाहरुको संख्या बढ्नुका कारण धेरै छन् । पछिल्लो समय व्यवस्थापन शिक्षामा महिलाहरुको पहुँच र रुचीका कारण पनि बैंकहरुमा महिलाहरुको संख्या बढेको हो । नेपालमा भएका युवा जनशक्ति अधिकांस विदेशिनुका कारण पनि महिला कर्मचारीहरुको संख्या बैंकहरुमा ह्वात्तै बढेको जानकारहरुको दाबी छ । यद्यपी नेपाली बैंकिङ क्षेत्रमा माथिल्लो तहमा महिलाहरुको संख्या निकै कम पाइएको छ । महिलाले नेतृत्व गरिरहेको वाणिज्य बैंकको संख्या १ मात्र छ । मेगाकि अनुपमा खुन्जेली, मेगाकी रविना देशाराज श्रेष्ठ, एनसीसी बैंककि बन्दना पाठक, सनराइज बैंककि आरती राणा र सिटिजन्स बैंककि उमङ्ग शर्मा लगायत हातमा गन्न मिल्ने महिलाहरुमात्र उच्च तहमा देखिन्छन् । 
नेपाली बैंकहरुमा महिलाहरुले पाउने सुविधा के छन् ? चुनौती के छन् ?
यसो त नेपाली बैंकहरुमा महिलाहरुलाई दिइने सेवा सुविधाहरुपनि सम्मानजनक छन् । गर्भवती महिलाको हकमा श्रम कानुनले नै नब्बे दिनसम्म विदा दिने भनेको छ । कुल ६० दिन सामान्य विदा र अर्को ३० दिन बेतलबी बिदा पाइने नियम छ । धेरै बैंकहरुले बेलुकासम्म काम गर्ने महिला कर्मचारीलाई घरसम्म पुर्याईदिने व्यवस्थासमेत गरेका छन् । यद्यपी केहि बैंकहरुमा यस्तो सुविधा नहुँदा कर्मचारी मारमा छन् । यसो त बैंकमा काम गर्ने महिलाहरुका चुनौती पनि कम नभएका होइनन् । विवाहित महिलाहरुलाई समय व्यवस्थापनमा समस्या छ भने कतिपय महिला कर्मचारीहरुले बैंकको कामको चापका कारण घरमा समय दिन नसक्दा पारिवारिक विघठनसमेत व्यहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal