कैलाश बिकास बैंकको किर्ते काण्डबारे Ground Zero रिपोर्ट : ‘किर्ते गरेरै मेरो सबै सम्पत्ति खाइदिने डर भो’ (भिडियो)

काठमाडौँ । दिपेन्द्र कँडेलको मोबाइलमा कैलाश विकास बैंकबाट मेसेज आयो । मेसेजमा लेखिएको थियो, ‘दिपेन्द्रजी, म कैलाश बैंक हेड अफिसबाट, तपाईं किस्ता पनि हाल्नुहुन्न, फोन पनि उठाउनु हुन्न, तपाईंको नोटिस पत्रिकामा ‘पब्लिस’ हुँदैछ । यसअघि नियमित रुपमा किस्ता हालिरहेका उनी बाबु बितेपछि पारिवारिक काममा व्यस्त हुँदा केहि किस्ता छुटेको रहेछ । तर कुरा बैंकको फलोअपको थिएन, उनलाई पठाइएको मेसेजको थियो । न बैंकबाट औपचारिक पत्र, न जानकारी, न सम्बन्धित ठाउँबाट फोनमा कुराकानी, न कुनै इमेल । एक्कासी यस्तो मेसेज आएपछि उनी बैंक गए ।
बैंकमा उनले आफुलाई कुनै पनि जानकारी नदिइकन यस्तो मेसेज आएको बारे भने । बैंकले उनलाई ४ वटा पत्रमार्फत जानकारी गराएको दावी गर्यो । उक्त पत्रमा कंडेलकि आमाले हस्ताक्षर गरेकोसमेत बैंकको दावी थियो । तर बैंकको सबै दावी झुटो रहेछ । उक्त पत्रमा कंडेलकि आमाले हस्ताक्षर नै गरेको होइन रहेछ । बरु अरु कसैले उनकि आमाको किर्ते हस्ताक्षर गरिदिएको रहेछ । ४ वटा पत्रमा उल्लेखित हस्ताक्षर एउटासँग अर्को मिल्दैन । त्यसमाथि उनी ग्यारेन्टर भएको ऋणको पत्रमा उनलाई कतिमा बोधार्थ दिइएको छैन, कतिमा उनको ठेगाना नै गलत छ । उनलाई इमेलमार्फत पनि केहि जानकारी गराइएको छैन । बैंकले दावी गरेपछि उनले आमासँग बुझे । आमाले कुनै पनि पत्रमा हस्ताक्षर नगरेको भनेपछि उनी कैलाश बिकास बैंकसँग किर्ते काण्ड र बैंकले गरेको मिसबिहेबका विरुद्धमा लडिरहेका छन् ।
जव हामी वालिङ पुग्यौँ…
बैंकका कर्मचारीले किर्ते गरेर लिलीमा प्रक्रिया अगाडी बढाएको तथ्य सामान्य हुनै सक्दैन । त्यसपछि हामीले यसबारे सत्य तथ्य बुझ्न स्याङ्जाको वालिङ पुग्यौँ । हामी कैलाश बिकास बैंकको वालिङ शाखा पुग्दा बैंकका मेनेजर बिदामा रहेछन् । हामीले बैंकका कामु मेनेजरसँग कुरा गर्यौँ । तर उनले यस विषयमा आफुलाई केहि पनि थाहा नभएको बताए । हामीले बैंकका मेनेजर मोति कुँवरलाई फोन पनि गर्यौँ । तर उनको फोन उठेन । उनी यहि प्रकरणबारे अर्थ सरोकारमा समाचार आएपछि हेड अफिसको बोलावटमा काठमाडौँ आएका रहेछन् ।त्यसपछि हामीले स्थानीयलाई बैंकको किर्ते प्रकरणबारे सोध्यौँ । केहिलाई यस विषयमा थाहा रहेछ, केहिलाई थाहा रहेनछ ।
ऋणीको घर पुगेपछि जे तथ्य थाहा भयो 
बैंकमा सम्बन्धित मान्छे नभएपछि र कामुको बोलीले काम नगरेपछि हामी ऋणीको घर पुग्यौँ । ऋणी लीला कंडेल, साक्षी दिपेन्द्र कंडेलका दाइ हामी आउने थाहा पाएर हामीलाई कुरीरहेका रहेछन् । घर शानदार थियो । घरभन्दा पनि बंगला थियो त्यो । सरदर हिसाब गर्दा झन्डै २० देखि २५ करोडको सम्पत्ति । त्यहि सम्पत्ति धितोमा राखेर लीला कंडेलका नाममा डेढ करोड रुपैयाँ ऋण झिकिएको रहेछ । घर यति शानदार थियो कि घरमा हेलिप्याडसमेत रहेछ । केहि समय अगाडी दिपेन्द्रको घरमा आयोजित एक कार्यक्रममा हेलिकोप्टरमार्फत कलाकारहरु घरमै ल्याईएको रहेछ । लीलाको परिवार राम्रै सम्पत्ति भएको परिवार रहेछ । 
हामी गएपछि उनले बैंकले गरेको किर्ते बारे हामीलाई सुनाइन् । उनले पटक पटक दाबी गरिन्, बैंकले गरेको उनको हस्ताक्षर किर्ते हो । त्यसपछि हामीले उनलाई एउटा कागजमा हस्ताक्षर गर्न लगायौँ । हामीलाई पत्रमा गरिएको हस्ताक्षर र उनको हस्ताक्षर भेरिफाइ गर्नु थियो । उनले तुरुन्तै कागज र कलम ल्याएर हामीलाई आफ्नो हस्ताक्षर गरेर देखाईन् । एक पटक होइन हामीले पटक पटक उनलाई हस्ताक्षर गर्न लगायौँ । नभन्दै बैंकले गरेको हस्ताक्षर किर्ते नै रहेको देखियो ।
बुढी हजुरआमाको चिन्ता, ‘मेरो नातिलाई बैंकले दुख दिएको छ रे’
घरमा ९३ बर्षकि हजुरआमा पनि रहेछिन् । उनले हामीसँग कुरा गर्न मन गरेपछि हामीले उनका अगाडी क्यामरा र रेकर्डर तेर्स्यायौं । उनी बैंकले आफ्नो छोरालाई दु:ख दिएको गुनासो गरिरहेकी थिइन् । १७ बर्षमा आफ्नो छोरो पेटमा हुँदा श्रीमानको मृत्यु भएको कारुणिक कथा सुनाउँदै उनले छोरो बितेको तनावमा जिन्दगी उराठ भएका बेला नातिलाई पनि बैंकले दुख दिएर आफ्नो उठिबास लगाउन खोजेको तर्क गरिन् ।
हामी फर्केपछि इन्सपेक्सन टोली पुग्यो…
हामी वालिङबाट काठमाडौँ फर्कियौँ । अर्थ सरोकारको टिम ऋणीको घरमै पुगेर यस बारे तथ्य बुझेको थाहा पाएपछि बैंक तात्यो । ऋणी लीला कंडेलले फोन गरेर बुधबार सुनाइन्, ‘तपाईंहरु फर्किएपछि बैंकको काठमाडौँ अफिसबाट आज मान्छे आए । हस्ताक्षर किर्ते भएको पुन: भनें । के- के हो लेखेर गएका छन् । हेरौं के हुन्छ ?’
बैंकले गल्ती स्वीकारेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले आफ्ना कर्मचारीले बदमासी गरेको स्वीकारेका हुन् । यता बैंकका मेनेजर मोति कुँवरले पनि यो प्रकरणमा आफुले माफी माग्नुबाहेक कुनै पनि उपाय नरहेको गुनासो गरेका छन् । उनीसँग, ऋणीसँग, बैंकका सीइओसँग गरिएको खास कुराकानीसहितको एक्सक्लुसिभ ग्राउण्ड जिरो रिपोर्ट हेर्नुहोस् : 

प्रस्तुती : काठमाडौँबाट सुरज प्याकुरेल र रेखा चन्द । 

भिडियो : अर्थ सरोकार गण्डकी प्रदेश ब्यूरो

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal