प्रभु लाइफ र युनियन लाइफ जोडिएका दुइ ‘अपराध’ जसले बीमा क्षेत्र कै बदनाम गरायो (भिडियो)

नाम : रामकिशोर राय यादव 
ठेगाना : रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधराम
बर्ष : ३९ 
अभियोग : कर्तब्य ज्यान (बीमा रकमको लोभमा आफ्नै छोरी मार्ने अपराध)
घटना रौतहटको हो । मौलापुर नगरपालिका, रौतहटका रामकिशोरका ५ सन्तान थिए । ती ५ सन्तान मध्येकी कान्छी छोरी थिइन् लक्ष्मी । भर्खर ४ वर्षे पुगेकी ती अबोध बालिकालाई बीमा रकमको लोभले आफ्नै बाबुले मारे । २०७६ असार १६ गते राति बीमा रकम पाउने लोभले रामकिशोरले आफ्नै कलिली छोरीको ज्यान लिए ।
२०७६ साल असार १६ गते राती लक्ष्मी र उनकी आमा खाना खाएर सुते । कामले दिनभर थाकेकी आमा र कलिली छोरी निदाए । रातको झन्डै १ बजेको थियो । लक्ष्मीकि आमा निन्द्राबाट ब्युँझिइन् । निन्द्राबाट ब्युझिदा उनले आफ्नी प्यारी कान्छी छोरी देखिनन् । आफ्नै ओछ्यानमा रहेकी छोरी नदेख्दा उनी आत्तिइन् । सबैलाई हार गुहार मागेपछि परिवारका अन्य सदस्यहरु पनि ब्युँझिए । ओछ्यानमा रहेकी आफ्नी कान्छी ४ बर्षीय छोरी एकाएक हराएपछि घरका सबै आत्तिए । छोरी कतै पनि नभेटिएपछि विहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय मौलापुरमा खबर पुग्यो । र त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गर्यो । 
बिहान करिब साढे ५ बजेको हुँदो हो । स्थानीय केटाकेटीहरु स्थानीय फगुनी राय यादवको माछा पोखरीमा एउटा बच्चाको लाश पानीमा तैरिरहेको देखे । पोखरीमा लास तैरिएको देखिएपछि उनीहरुले पनि प्रहरीलाई खबर गरे । प्रहरीको अनुसन्धान र परिवारका सदस्यको बयानपछि पोखरीमा भेटिएको उक्त ४ बर्षीय लक्ष्मीकै भएको पुष्टि भयो । प्रहरीले सुक्ष्म अनुसन्धान गरेपछि एउटा निर्मम निष्कर्ष बाहिर आयो । बीमा कम्पनीबाट आउने २५ लाख रुपैयाँको लोभमा उनले आफ्नै छोरीको हत्या गरेको खुल्यो । पोष्टमार्टम रिपोर्टले हत्यापछि मात्र पानीमा फालेको देखाएको छ । त्यसपछि गाउँ नै स्तब्ध भएको छ । 
मृतक लक्ष्मीको २०७६ जेठ १९ गते २५ लाख रुपैयाँको जीवनबीमा भएको छ । प्रभु लाइफ इन्स्योरेन्स गरुडा उपशाखाबाट उनको बीमा भएको देखिएको छ । मृतक बालिकाका बाबु रामकिसोरले योजनाबद्ध रुपमा बीमा गराई छोरीको हत्या गरेको निष्कर्ष प्रहरीको छ । यसो त प्रहरीले मृतक बालिकाका बाबुलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो । रामकिसोरले ५ सन्तानमध्ये सबैभन्दा कान्छी सानी छोरीकोमात्र जीवन बीमा गराउनु, जीवन बीमाको रकम अस्वभाविक रुपमा आर्थिक हैसियतभन्दा ठूलो हुनु, घरबाटै छोरी हराउनु र हत्या भएको सो रात बाबुका गतिविधि शंकास्पद देखिएपछि प्रहरीले गहिरो अनुसन्धान गरेको थियो । बीमा रकम प्राप्तगर्ने योजनाअनुसार हत्या गरेको उनले स्वीकारेका छन् । सुरुमा ३० लाखको बीमा गराउन चाहेको तर बीमा कम्पनीले ३० लाखको गर्न आमा वा बाबु मध्ये एक जनाको समेत ३० लाखको बीमा हुनुपर्ने कुरा बताएपछि २ दिनपछि २५ लाखको बीमा गराएको अनुसन्धानबाट देखिएको छ।
प्रहरीसँगको बयानमा उनले घरमा निदाईरहेकी छोरीलाई मध्यरातमा आफैँले काँधमा बोकी पोखरीको डिलसम्म लगेको, त्यहाँ घाँटी थिचेको र बालिकाको मृत्यु भएपछि पोखरीमा बालिका फालिदिएको बयान दिएका छन् । प्रहरी अनुसन्धानमा जीवन बीमा गराउने अभिकर्ता धर्बेन्द्र यादवले रामकिसोरलाई उपाय सिकाएको खुलेको छ। उनी लक्ष्मीको बीमाको प्रस्तावक पनि हुन् । धर्बेन्द्र हाल फरार रहेको प्रहरीको भनाइ छ ।
घटना पोखराको हो । पोखरा महानगरपालिका-१५ कान्तिपुर चोक बस्ने २७ वर्षीया लक्ष्मी परियार नेपालीको हत्या गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१५ कान्तीपुर चोक बस्ने ३५ वर्षीय रमेश नेपाली, महेन्द्रपुल बस्ने भोजपुर, भोजपुर नगरपालिका-५ बैंकरोडका ३२ वर्षीय संजय शर्मा, पृथ्वीचोक बस्ने २६ वर्षीय चितरञ्जन कुमार साह र गोरखा गण्डकी गाउँपालिका-७ घ्यालचोक बस्ने १९ वर्षीया अनु परियार रहेका छन् । 
आफ्नै शालीसंगको अवैध सम्बन्ध लुकाउन र बीमा वापतको पैसा पाइन्छ भनेर रमेश नेपालीले आफ्नै श्रीमतीको हत्या गरे । उनले युनियन लाइफ इन्स्योरेंन्समा १ करोड रुपैयाँको बीमा गरेका थिए । रमेश र साली नाता पर्ने अनु परियारसँग सम्बन्ध रहेको कुरा बाहिर ल्याएको र बदनाम भएकोले लक्ष्मीलाई मार्ने योजना अनुसार अभियुक्तहरुको संलग्नतामा उनको हत्या गरी शव उक्त ठाउँमा फालेको खुल्न आएको छ भने मृत्युपछि बीमा वापतको रकम पाइन्छ भनेर उनले आफ्नै श्रीमतीको हत्या गरेको पाइएको छ । घटनामा संलग्न हाल नाम थर नखुलेका भारत वतन भएका तीनजनाको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बीमाको लोभले आफ्नै कलिली छोरीको हत्या, श्रीमतीको हत्या योजनापछि बीमा, सतहमा आएका यी दुइ घटनाले नेपालको बीमा क्षेत्रको कुरूप तस्विर उतारेको छ । यसरी आफ्नै छोरीको हत्या गर्दा पनि बीमा रकम आउँछ भनेर सिकाउने अभिकर्तालाई अव कस्तो कारवाही होला ? यस्ता घटनाप्रति बीमा समिति के हेरेर बसीरहेको छ त ? हामीले यस विषयमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेललाई सोधेका छौं ।
यसो त साना तिना गल्तीलाई बीमा समितिले वास्ता नगर्दाको उपज पोखरा र रौतहटका कहालीलाग्दा घटनाहरु रहेको बताउनेहरु पनि छन् । तर केहि प्रतिनिधि घटनालाई लिएर समग्र राम्रा अभिकर्ताहरुलाई बदनाम गराउनुपनि पक्कै जायज छैन । घटनाबारे बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं यसो भन्छन् । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal