EXCLUSIVE: होन्डाका बाइक चढ्नेहरु होसियार ! हेर्नुहोस् तपाईंको बाइक असुरक्षित रहेको प्रमाण (भिडियोसहित)


  • अर्थ सरोकार सम्बाददाता 
केहि समय अगाडी अर्थ सरोकार डटकममा होन्डाको एभीएटर स्कुटर चलाउने दुइजनाको गुनासो आयो । उनीहरुको आरोप थियो, ‘एउटा स्कुटरको चावीले अर्को स्कुटरको डिकी खुल्छ । महत्वपूर्ण समानहरु डिकीमा राख्ने चलन भएकाले असुरक्षा भयो ।’ उनीहरुको गुनासो झट्ट पत्याईहाल्ने खालको थिएन । किनकि साच्चै यस्तो हुने भयो भने त स्कुटरको डिकीमा केहि सामान राख्नु त हदैसम्मको असुरक्षित काम हुनेछ ।

उनीहरुको आरोपको पुष्टी गर्न हामीले एकपटक चेक गर्ने निधो गर्यौं । र मंगलबार दुवै स्कुटरका प्रयोगकर्ताहरुलाई तीनकुनेमा बोलायौं । उनीहरुको हाम्रो क्यामरामा एउटा स्कुटरले अर्को स्कुटरको डिकी खुलेको प्रमाणित गरे । हामी अझै पनि कन्फर्म गर्नुपर्छ भन्ने पक्षमा थियौं । किनकि यो सामान्य इस्यू छँदै थिएन । उनीहरुले एउटा स्कुटरको चावीले अर्को स्कुटरको डिकी खोलेको देखेपछी हामीले थप भेरिफाइ गर्यौं ।

आखिरमा हो रहेछ । होन्डा कम्पनीको एभिएटर स्कुटरमा एउटा स्कुटरको चावीले अर्को स्कुटर मज्जाले खुल्दो रहेछ । तर यो समस्या सबै स्कुटरमा भने हुँदैन भन्ने कुरा आयो । तर चोरको चावीले तपाईंहाम्रो स्कुटर भेट्यो भने त समस्या भइ नै हाल्यो । होन्डाको स्कुटर सुरक्षाका हिसावले कमजोर सावित भयो । आखिर समस्या स्कुटरमा छ कि चावीमा ? हामीले यसबारे बुझ्न विभिन्न मितिमा स्कुटर किनिएको शोरुम ग्वार्को स्थिति इन्द्रायणी इम्पेक्समा पुग्यौं । र सोध्यौं, ‘एउटा स्कुटरको चावीले अर्को स्कुटर कसरी खुल्यो ।’ ती शोरुमवाला पनि अलमल्लमा परे । त्यसपछि उनले यस्तो कम्प्लेन पहिला नआएको र कम्पनीमा खबर गरिदिने बताए । तर हामीलाई उनको भनाइ पर्याप्त थिएन । उनले आफु शो रुममात्र भएको बताएपछी हामी होन्डा कम्पनीका स्कुटर बेच्ने नेपालका लागि होन्डाको आधिकारिक विक्रेताकहाँ पुग्यौं । ज्योति ग्रुप अन्तर्गतको यो कम्पनीको जमलस्थित शोरुममा पुगेर हामीले हाम्रो समस्या बतायौं ।

तर आफुलाई सेल्सको हेड बताउने कर्मचारीले स्कुटर पूरानो भएपछी डिकी मात्र होइन स्कुटर नै खुल्ने र यो होन्डाको मोटरसाइकलमा हुने सामान्य समस्या भएको बताए । उनले आफ्नो कमजोरी लुकाउन विभिन्न तर्कहरु पनि दिँदै थिए । समग्रमा उनले यसलाई सामान्य समस्याका रुपमा लिए । उनको भनाइ थियो नयाँ हुँदा खासै समस्या आउंदैन तर केहि समयमा यस्तो समस्या होन्डाका सबै बाइकमा आउँछ । उनको भनाइ सुन्दा हामीले होन्डाका बाइक असुरक्षित पनि हदै असुरक्षित रहेको पायौं । हामीले प्रस्तुत गरेका उदाहरणहरुले पूराना स्कुटरका पनि थिएनन् । हाम्रो नयाँ स्कुटरको डिकीमा किन यस्तो समस्या आयो त ? हामीले थप जिज्ञासा राख्यौं।
तर उनले आफ्नो कम्पनीले बेच्ने स्कुटरका बारेमा गुनासो लिएर आएका आफ्ना कस्टमरलाई सहि तरिकाले सम्झाएनन् । बरु आफ्ना तर्कहरुमात्र थुपारे । यो त हदैसम्मको असुरक्षा भएन र ? भन्ने प्रश्नमा उनले यो सामान्य समस्या भएकाले आफुले बोक्ने समानको इन्स्योरेन्स गर्नुपर्ने पाठ पढाउन थाले । होन्डाका बाइकहरु असुरक्षित रहेको थप प्रमाणित भयो । तर उनले जिम्मेवार जवाफ नदिएपछि हामीले कम्पनीको आधिकारिक धारणा लिने प्रयास गर्यौं । हामीले सम्बन्धि व्यक्तिको धारणा बुझ कम्पनीको कर्पोरेट कार्यालयमा माथि सीढ़ी चढ्दै गर्दा संयोगले कम्पनीका उपाध्यक्ष भेटिए । र हामीले गुनासो पोख्यौं उनैसँग । हामीलाई चाहिने चाहिने तर्कहरु थुपारेर दिक्क बनाएका कम्पनीका सेल्सका कर्मचारीको व्यवहारले हामीलाई दिक्क बनाएको अवस्थामा उनको तर्क र व्यवहारले हामीलाई केहि राहत दियो । उनले यो समस्याको समाधान गरेरै घर फर्काउने भन्दै आफ्ना सम्बन्धित विभागका प्रमुखहरुलाई बोलाए र हामीले उनीहरुसँग यस विषयमा कुराकानी गर्यौं ।

तर कसैसँग पनि समस्याको समाधान थिएन । उल्टै हामीलाई त चावी परिवर्तन गरिदिन्छौं भन्ने जवाफ आयो । जवकी थुप्रै ग्राहकलाई परेको हुन सक्ने यो समस्याको दीर्घकालीन समाधान यो थिएन । केहि समयको वार्तापछि निष्कर्ष निस्कियो, ‘होन्डा असुरक्षित छ । स्कुटर पूरानो हुँदै गर्दा कुनै पनि बेला तपाईंको स्कुटर अरु कुनै चावीले खुल्न सक्छ । तपाईंको समान वा स्कुटर नै कसैले चोरेर लैजान सक्छ । कसैको गुनासोबाट सुरु भएको स्कुटर काण्ड होन्डाको एभिएटर स्कुटर असुरक्षित छ र सकेसम्म सुरक्षाको दृष्टिकोणले यो स्कुटर नाचालाउंदा नै फाइदाजनक देखियो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार डटकम सबैभन्दा बढी टेलिभिजन कार्यक्रम उत्पादन गर्ने आर्थिक अनलाइन सञ्चार माध्यम हो । र हाम्रा विभिन्न कार्यक्रमहरु विभिन्न टेलिभिजनमार्फत प्रशारण हुँदै आएका छन् । 'अर्थ सरोकार' स्वयम् अनुसन्धानमा आधारित नेपालको चर्चितमध्येको एक आर्थिक टेलिभिजन कार्यक्रम हो । हामी विशेषत: सेयर बजार, मुद्रा बजार र कर्पोरेट क्षेत्रमा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्छौँ । स्ट्रेट फरवार्ड, बजार बुलेटिन, स्पेसल रिपोर्ट हाम्रा नियमित भिडियो कार्यक्रमहरु हुन् भने सेयरका कुरा, घटना र बजार, सेयर बजार सुन्दर छ, बीमा बहस, लगायतका साप्ताहिक कार्यक्रम पनि हामी उत्पादन र प्रशारण गर्छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal